तराईका जिल्लाहरूमा आज होली मनाइँदै
Prime TV News एक दिन अगाडि 
काठमाडौ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ।
हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो।
आज नवलपरासी पूर्व, नवलपरासी पश्चिम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ।
मगर, थारु समुदायको बाक्लो बसोबास रहेको नवलपरासी पूर्वमा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ।
सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए। “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उनले भने, “धार्मिक महत्त्व सँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ।”
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको भुर्तेलले बताए। रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ।
पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।












