इरानविरुद्ध ठूलो सैन्य कारबाही हुन बाँकी छ: ट्रम्प

User Image Prime TV News एक दिन अगाडि
Image of इरानविरुद्ध ठूलो सैन्य कारबाही हुन बाँकी छ: ट्रम्प

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अमेरिका ठूलो सैन्य अभियानमा रहेको बताएका छन्। उनले इरानी शासनले खडा गरेका 'असह्य खतराहरू' निर्मूल पार्न यो कदम चालिएको दाबी गरेका छन्।

ट्रम्पका अनुसार इरानले अमेरिकी चेतावनीहरूलाई बेवास्ता गर्दै आफ्नो आणविक कार्यक्रम रोक्न अस्वीकार गरेको छ। उनले इरानको क्षेप्यास्त्र कार्यक्रमलाई सम्भावित आणविक हतियार विकासलाई संरक्षण गर्ने संरचनाका रूपमा चित्रण गर्दै त्यसले मध्यपूर्व र अमेरिकी जनताको सुरक्षामा गम्भीर खतरा पुर्‍याउने बताएका छन्।

उनले यो निर्णय युद्ध सुरु गर्ने उद्देश्यले नभई इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिन र उसको लामो दूरीका क्षेप्यास्त्र क्षमता नष्ट गर्न लिइएको दाबी गरे। साथै, इरानी नौसेनालाई कमजोर पार्ने र इरानले आफ्नो सिमाना बाहिर सक्रिय समूहहरूलाई हतियार, आर्थिक सहयोग र निर्देशन दिने गतिविधि रोक्ने अभियानको लक्ष्य रहेको उनको भनाइ छ।

इरानतर्फ भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ। तर अमेरिका र केही पश्चिमी देशहरूले उक्त दाबीप्रति शंका व्यक्त गर्दै आएका छन्।

यसबीच क्षेत्रीय तनाव तीव्र बन्दै गएको छ। पर्शियन खाडी क्षेत्रमा सुरक्षा चासो बढेको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरिरहेको छ। संभावित सैन्य द्वन्द्वले मध्यपूर्वको स्थायित्व, ऊर्जा आपूर्ति तथा विश्व अर्थतन्त्रमा असर पार्न सक्ने विश्लेषण गरिएको छ।

अमेरिकी प्रशासनले अभियानलाई 'अन्तिम र उपयुक्त अवसर' को रूपमा व्याख्या गरेको छ भने इरानले आफ्नो सार्वभौमिकता र सुरक्षा हितको रक्षा गर्ने बताएको छ।