सुनको मूल्य वढ्यो, चाँदीमा गिरावट
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १९ गते सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम गरेको जनाएको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि बजारमा सुनको मूल्य पुनः उच्च विन्दुनजिक पुगेको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। पछिल्ला दिनहरूमा सुनमा लगानी बढ्नु, डलरको उतारचढाव तथा विश्व आर्थिक अनिश्चितताले पनि मूल्यमा प्रभाव पारिरहेको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २ सय ५ रुपैयाँले घट्दै ५ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढ्दै जाँदा बजारमा किनबेच केही सुस्ताएको व्यवसायीहरू बताउँछन्। आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार मूल्यमा थप उतारचढाव हुन सक्ने अनुमान गरिएको छ।












