नयाँ बानेश्वरमा सडक दुर्घटना : टिपरको ठक्करबाट नासुको ज्यान गयो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राजधानीको व्यस्त क्षेत्र नयाँ बानेश्वरमा मंगलबार बिहान भएको सडक दुर्घटनामा एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
बिजुलीबजारबाट तिनकुनेतर्फ जाँदै गरेको बा.२ क ३२२९ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बद्री कोइरालाको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
४८ वर्षीय कोइराला भक्तपुरको लोकन्थलीमा बसोबास गर्दै आएका थिए। सुनसरीको इनरुवा नगरपालिका–५ घर भएका उनी भक्तपुरस्थित क्षयरोग केन्द्रमा नायब सुब्बा (नासु) पदमा कार्यरत थिए। दुर्घटनामा प्रदेश–३–००१ ब.९४५ नम्बरको स्कुटर क्षतिग्रस्त भएको छ।
दुर्घटनामा संलग्न टिपर चालक गोरखाको भुम्लिचोकका २६ वर्षीय विकास थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फोहोर संकलनका लागि प्रयोग हुने उक्त टिपरलाई समेत नियन्त्रणमा राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












