तरलता नियन्त्रणका लागि राष्ट्र बैंक सक्रिय, ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप संकलन गरिने
Prime TV News २ महिना अगाडि 
काठमाडौ । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ। केन्द्रीय बैंकले ६ दिन अवधिका लागि एक खर्ब रुपैयाँ बजारबाट खिच्ने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनसम्बन्धी बोलकबोल आज सञ्चालन हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत सहभागी हुनुपर्नेछ। उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।
राष्ट्र बैंकले निष्कासित रकमबराबर न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरेको जनाएको छ। रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः वितरण गरिनेछ।
बैंकिङ प्रणालीमा कर्जा प्रवाह अपेक्षाकृत सुस्त हुँदा निक्षेप थुप्रिन पुगेको अवस्था छ। यही अधिक तरलता नियन्त्रण गर्न केन्द्रीय बैंकले पछिल्लो समय नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।







