मौन अवधिमा आचारसंहिता पालना नगरे आयोगले कडा कारबाही गर्ने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवार र सरोकारवालाहरूले आचारसंहिता पालना नगरे कडा कारबाही गरिने चेतावनी दिएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले गलत कार्यमा संलग्नलाई छाड्ने छैन भनी स्पष्ट पारेका छन्।
भण्डारीका अनुसार मौन अवधिमा झ्याल, जस्केला र सामाजिक सञ्जालमार्फत हुने अनियमित गतिविधि बढ्ने सम्भावना छ। “त्यस्ता अनियमित काम गर्नेहरू पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइनेछ,” उनले बताए।
आयोगले पटक–पटक सबै सरोकारवालालाई आचारसंहिता पालनाका लागि आग्रह गर्दै आएको छ। भण्डारीले भने, “कुनै कानूनले निषेध गरेको काम प्रमाणित भए मनोनयनपत्र खारेज हुनेछ। विजयी वा पराजयी जे भए पनि उम्मेदवारी खारेज हुने र त्यसपछि ६ वर्षसम्म कुनै चुनावी प्रक्रियामा सहभागी हुन नपाइने व्यवस्था छ।”
उनले थपे, “सुरक्षा र निष्पक्षताको लागि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका प्रचार सामग्रीहरू तुरुन्त हटाउनुपर्नेछ। सामाजिक सञ्जालमा उम्मेदवारको समर्थन वा विरोधमा राखिएका सामग्रीहरू पनि हटाइनेछन्।”
निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्ने गतिविधिमा कडाइका साथ निगरानी राख्ने र जरुरी कारबाही अघि बढाउने जनाएको छ।












