इरान आक्रमणमा परि अहिले सम्म ७४२ जनाको मृत्यु
Prime TV News एक दिन अगाडि 
काठमाडौ । अमेरिका र इजरायलले शनिबार ईरानका विभिन्न शहरहरूमा संयुक्त रूपमा आक्रमण गरेपछि कम्तीमा ७४२ जनाको मृत्यु भएको र ९०० भन्दा बढी घाइते भएका छन् ।
मानवअधिकार सम्बद्ध समाचार एजेन्सी एचआरएएनएका अनुसार मृत्यु भएकामध्ये १७६ बालबालिका रहेका छन्। आक्रमण मुख्य रूपमा ईरानका उच्च अधिकारीहरू र सुप्रीम लिडर आयातोल्ला अली खामेनीलाई लक्षित गरेर भएको बताइएको छ। तर, यस क्रममा सामान्य नागरिक, धार्मिक स्थल, आवासीय क्षेत्र र अस्पतालहरूमा समेत व्यापक क्षति पुगेको दाबी गरिएको छ।
मुख्य प्रभावित क्षेत्रमा राजधानी तेहरानका केही अस्पताल र सैनिक आधार, कराजस्थित मस्जिद, बन्दर अब्बासमा शाहिद बहोनार पियर, पश्चिमी शहर सानान्दाजमा कुर्दिस्तान कानुन कार्यान्वयन कमाण्ड मुख्यालय र सीमाप्रहरी कमाण्ड केन्द्र, साथै इस्फहानको वायुसेना अड्डा रहेका छन्। एचआरएएनाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा ८५ जनाको मृत्यु भएको छ र थप सयौं मृत्युसँग सम्बन्धी विवरण प्रमाणीकरणको प्रक्रिया जारी छ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको जनाएको छ। अन्तर्राष्ट्रिय समुदायले घटनामा गम्भीर चिन्ता व्यक्त गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषदमा तत्काल बैठक बस्ने तयारी भइरहेको छ। अमेरिकी पक्षले नागरिकलाई जानबुझी लक्षित गरिएको नभएको दाबी गरेको छ।












