सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीको निधन

User Image Prime TV News २२ घण्टा अगाडि
Image of सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीको निधन

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक स्वास्थ्यकर्मीको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो मंगलबार दिउँसो मतदान केन्द्रमै अचानक बेहोस भएका थिए। अवस्था गम्भीर भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएको करिब आधा घण्टापछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले दिएको जानकारीअनुसार महतो मतदान कार्यमा खटिएकै समयमा अस्वस्थ भएका थिए। मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको र पोस्टमार्टमपछि मात्रै यकिन कारण खुल्ने चिकित्सकहरूले बताएका छन्।

महतो रौतहटको माधव नारायण नगरपालिका–६का स्थायी बासिन्दा हुन्। उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबका रूपमा कार्यरत थिए। घटना भएको मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्व दिशामा पर्दछ।

हाल शव प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ र परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। निर्वाचनको क्रममा भएको यस घटनाले स्थानीय स्तरमा शोकको वातावरण सिर्जना भएको छ।