मध्यपूर्वस्थित नेपालीको सुरक्षाका लागि उच्चस्तरीय संयन्त्र गठन
Prime TV News २३ घण्टा अगाडि 
काठमाडौ । मध्यपूर्व क्षेत्रमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा, उद्धार तथा समन्वयका लागि उच्चस्तरीय ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा टिम गठन गरिएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार परराष्ट्रमन्त्रीस्तरीय निर्णयका आधारमा उक्त संयन्त्र स्थापना गरिएको हो।
मन्त्रालयअन्तर्गत मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले संकटको अवस्था सिर्जना भएमा तुरुन्त निर्णय, उद्धार समन्वय तथा आवश्यक सहजीकरण गर्न टिम गठन गरिएको बताए। उनका अनुसार विदेशस्थित नेपाली दूतावासहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक कदम चालिनेछ।
टिममा गृह मन्त्रालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, श्रम मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सहभागी रहने व्यवस्था गरिएको छ।
सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई सतर्क रहन, स्थानीय निकाय तथा दूतावासको सम्पर्कमा रहन आग्रह गर्दै कुनै आपत्कालीन अवस्था आएमा तत्काल सम्बन्धित निकायमा जानकारी दिन अनुरोध गरेको छ। मन्त्रालयले आवश्यकता अनुसार थप कदम चाल्न सरकार तयार रहेको जनाएको छ।













