मौन अवधिमा जसपा उम्मेदवार नगदसहित पक्राउ, पाँच जना नियन्त्रणमा

User Image Prime TV News ८ घण्टा अगाडि
Image of मौन अवधिमा जसपा उम्मेदवार नगदसहित पक्राउ, पाँच जना नियन्त्रणमा

सिराहा । मौन अवधिका बेला सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार नगदसहित पक्राउ परेका छन्।

सिराहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादवलाई गएराति सिराहा सदरमुकाम नजिकबाट नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाका अनुसार यादवलाई राति करिब साढे १२ बजे प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पिओ गाडीसहित पक्राउ गरिएको हो।

प्रहरीले गाडी तलासी गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। सो रकम जफत गरी यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका अन्य चार जनाको नाम भने सार्वजनिक गरिएको छैन।

नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ। घटनासम्बन्धी आवश्यक अनुसन्धानपछि उनीहरूलाई कानुनी कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि कडाइका साथ निषेध गरिएको हुन्छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।