दुर्गम १५ जिल्लामा हेलिकप्टरबाट मतपेटिका संकलन गर्ने आयोगको निर्णय

User Image Prime TV News ७ घण्टा अगाडि
Image of दुर्गम १५ जिल्लामा हेलिकप्टरबाट मतपेटिका संकलन गर्ने आयोगको निर्णय

काठमाडौ । निर्वाचन आयोगले दुर्गम तथा हिमाली क्षेत्रका मतदानस्थलबाट मतपेटिका छिटो संकलन गर्न १५ जिल्लाका ६१ स्थानमा हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको बैठकले जिल्लाबाट प्राप्त विवरणको विश्लेषणपछि उक्त निर्णय गरेको हो।

आयोग स्रोतका अनुसार कोसी प्रदेशका सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ मतदानस्थलबाट मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिनेछ। प्रारम्भिक सूचीमा नराखिएको ताप्लेजुङलाई सोमबार थप गरिएको आयोगले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत रसुवा, दोलखा र धादिङ का केही मतदान केन्द्रबाट पनि हेलिकप्टर प्रयोग गरिने भएको छ। गण्डकी प्रदेशका गोरखा र मनाङका हिमाली क्षेत्रका मतदानस्थलमा समेत हवाई ढुवानीको व्यवस्था गरिएको छ।

लुम्बिनी प्रदेशको रुकुम पूर्व का ७ मतदानस्थल र कर्णाली प्रदेशका हुम्ला, डोल्पा तथा रुकुम पश्चिम का ४० मतदानस्थलका मतपेटिका विभिन्न संकलन बिन्दुमा जम्मा गरी हेलिकप्टरबाट सदरमुकाम पुर्‍याइनेछ।

सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा र बझाङ का २० मतदानस्थलबाट पनि हेलिकप्टरमार्फत मतपेटिका संकलन गर्ने निर्णय गरिएको छ।

मतपेटिका संकलनका लागि आवश्यक स्थानहरूको विवरण गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत संकलन गरेको थियो। आयोगले प्राप्त विवरणमाथि थप विश्लेषण गरी हवाई ढुवानीको निर्णय गरेको जनाएको छ।

मौसम तथा तत्कालको अवस्थाअनुसार हेलिकप्टर प्रयोगमा आवश्यकतानुसार फेरबदल हुन सक्ने आयोगले स्पष्ट पारेको छ ।