प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी सम्पन्न, वित्तीय सेवा व्यवस्थापन सुनिश्चित

User Image Prime TV News ५ घण्टा अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी सम्पन्न, वित्तीय सेवा व्यवस्थापन सुनिश्चित

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यही फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्षित गर्दै मतदान व्यवस्थापन, वित्तीय सेवा र प्रशासनिक समन्वयका कार्य अन्तिम चरणमा पुगेको आयोगले जनाएको हो।

निर्वाचनलाई मध्यनजर गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। फागुपूर्णिमा तथा अन्य बिदाका कारण वित्तीय पक्षका काममा असर नपरोस् भन्ने उद्देश्यले आयोगको निर्णय तथा अनुरोधअनुसार महालेखा नियन्त्रक कार्यालय मार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाट निर्वाचनसम्बन्धी भुक्तानी निकासा, राजस्व दाखिला तथा अन्य आवश्यक सेवा सञ्चालनमा राखिएको आयोगले जनाएको छ। प्रणाली निर्वाध सञ्चालनका लागि प्राविधिक जनशक्ति परिचालन गरिएको छ।

यसैगरी नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन खर्चसम्बन्धी खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थामार्फत रकम दाखिला र भुक्तानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाएको छ। भुक्तानी प्रणालीमा कुनै अवरोध नआउने गरी तयारी गरिएको आयोगले स्पष्ट पारेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानका दिन मुलुकभर एकैपटक मतदान हुने भएकाले सो दिन बैंकिङ तथा वित्तीय सेवा बन्द रहनेछ। यद्यपि, फागुन २२ गतेदेखि सेवा यथावत् सञ्चालन हुने जनाइएको छ।

निर्वाचन आयोगले शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण समन्वय पूरा भएको दाबी गरेको छ।