पर्सा–२ का नेकपा उम्मेदवार पक्राउ, शंकास्पद वस्तु बरामद
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पर्सामा सुरक्षा सतर्कता कडा पारिएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी रोकेर तलासी लिइएको थियो। सो क्रममा चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गाडीबाट केही शंकास्पद वस्तु फेला परेको र त्यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई अस्थायी रूपमा घेराबन्दी गरिएको छ।
प्रहरीले घटनासम्बन्धी विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिले चेकजाँच तीव्र बनाइएको बताइएको छ।
यसअघि पनि प्रतिनिधिसभा निर्वाचनकै सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका सिराहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव मौन अवधिमा नगदसहित पक्राउ परेका थिए। पछिल्ला घटनाक्रमले निर्वाचन सुरक्षालाई लिएर चासो बढाएको छ।












