इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही तीव्र

User Image Prime TV News ४ घण्टा अगाडि
Image of इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही तीव्र

काठमाडौ । मध्यपूर्वमा तनाव चुलिँदै जाँदा इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही तीव्र पारेको जनाएको छ। इजरायली सेनाका अनुसार आफ्ना पाँचवटा अग्रिम चौकीबाट अघि बढ्दै सेना लेबनानको भित्री भागसम्म प्रवेश गरेको छ।

इजरायलले इरान समर्थित संगठन हिज्बुल्लाहविरुद्ध औपचारिक अभियान घोषणा गर्दै राजधानी बेरुतका विभिन्न क्षेत्रमा ठूला हवाई आक्रमण गरेको छ। दक्षिणी बेरुत र दक्षिणी लेबनानका बाहिरी क्षेत्रहरू हिज्बुल्लाहको प्रभाव क्षेत्र मानिन्छन्।

हवाई आक्रमणअघि इजरायलले ५३ भन्दा बढी गाउँ खाली गर्न चेतावनी दिएको थियो। आक्रमणपछि ती क्षेत्रबाट सर्वसाधारण ठूलो संख्यामा विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय (यूएनएचसीआर)का अनुसार सोमबारसम्म ३१ हजारभन्दा बढी मानिसले शरणस्थलमा आश्रय लिएका छन्।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले दक्षिणी बेरुतबाट भाग्ने क्रममा धेरै मानिस ट्राफिक जाममा फसेर सडक किनार वा आफ्नै गाडीमै रात बिताउन बाध्य भएको बताएका छन्।

यसैबीच, हिज्बुल्लाहले जवाफी कारबाहीमा इजरायली सेनाका तीन आधार क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ। यद्यपि, दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।

द्वन्द्व चर्किँदै जाँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ भने मानवीय संकट गहिरिँदै जाने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको छ।