मौन अवधिमा नगदसहित जसपा उम्मेदवार पक्राउ
Prime TV News ४ घण्टा अगाडि 
सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा गैरकानुनी गतिविधि गरेको आरोपमा अशेश्वर यादव पक्राउ परेका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सिरहा क्षेत्र नं ३ का उम्मेदवार हुन्।
प्रहरीका अनुसार नेपाल भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो।
जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यादव यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












