मतदानको पूर्वसन्ध्यामा काठमाडौंबाट बाहिरिनेको भीड बढ्यो

User Image Prime TV News ४ घण्टा अगाडि
Image of मतदानको पूर्वसन्ध्यामा काठमाडौंबाट बाहिरिनेको भीड बढ्यो

काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा संघीय राजधानी काठमाडौंबाट गृहजिल्ला फर्किने मतदाताको संख्या ह्वात्तै बढेको छ।

रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायका कारण उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू मतदानका लागि गाउँ फर्किन थालेपछि प्रमुख बसपार्कहरूमा अत्यधिक भीड देखिएको हो।

भोलि सार्वजनिक यातायात सञ्चालन नहुने भएपछि धेरै मतदाता आजै यात्रा गर्न बाध्य भएका छन्। यसको प्रभाव नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खुलगायत स्थानमा स्पष्ट देखिएको छ। बिहानैदेखि टिकट काउन्टरमा लाम लागेका छन् भने लामो दूरीका सवारी साधनमा सिट अभाव भएको यात्रुहरूले बताएका छन्।

यातायात व्यवसायीहरूका अनुसार उपत्यकाबाट बाहिरिने यात्रुको चाप पछिल्ला केही दिनयता निरन्तर बढ्दो क्रममा छ। माग धान्न थप बस सञ्चालनको प्रयास भइरहेको भए पनि पर्याप्त सवारी साधन उपलब्ध गराउन कठिनाइ भएको जनाइएको छ। केही स्थानमा तोकिएभन्दा बढी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने गुनासोसमेत आएको छ।

यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका मुख्य नाकाहरूमा सुरक्षा जाँच कडा पारेको छ। यात्रुको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको र नियम उल्लंघन गर्ने सवारी साधनलाई कडाइका साथ कारबाही गरिने चेतावनी दिइएको छ।

उता, निर्वाचन आयोग, नेपालले सबै मतदातालाई निर्धक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न आह्वान गर्दै आवश्यक तयारी पूरा भएको जनाएको छ। गाउँ–गाउँमा चुनावी माहोल तातेको छ भने मतदाता सहभागिता बढ्ने अपेक्षा गरिएको छ।