धनगढीमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त

User Image Prime TV News ३ घण्टा अगाडि
Image of धनगढीमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त

धनगढी । धनगढी उप–महानगरपालिका–१३ स्थित कैलाली गाउँ क्षेत्रमा होली मनाउने क्रममा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। घटनामा दुई प्रहरीसहित एक स्थानीय घाइते भएका छन् भने प्रहरीले भीड नियन्त्रणका लागि हवाई फायरसमेत गर्नुपरेको जनाएको छ।

जिल्ला प्रहरीका अनुसार मंगलबार साँझ करिब ६ बजे पुरानो रिसइबीको विषयमा दुई टोलका युवाबीच विवाद सुरु भई झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि अतिरिक्त प्रहरी परिचालन गरिएको थियो।

घाइते हुनेमा असई डबल साउद र वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक बलराम पाण्डे रहेका छन्। स्थानीय लोकेश खत्री पनि घाइते भएका छन्। गम्भीर घाइतेको उपचार माया मेट्रो अस्पतालमा भइरहेको छ।

प्रहरीका अनुसार करिब तीन सय जनाको समूहले प्रहरी टोली र गाडीमाथि ढुंगामुढा प्रहार गरेको थियो। ढुंगामुढाबाट प्रहरीको बीएसी ३४८० नम्बरको स्कार्पियो भ्यानमा क्षति पुगेको छ। भीड नियन्त्रणका क्रममा ६ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा १२ जनालाई नियन्त्रणमा लिइएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। क्षेत्रको सुरक्षा अवस्था सामान्य बनाउन थप प्रहरी परिचालन गरिएको छ।