आफ्ना पार्टीका उम्मेद्वार विरुद्ध सामाजिक सञ्जालमा झुठो प्रचार गरिएको भन्दै नेकपाको आपति
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । मौन अवधिमा नेपाली कम्युनिष्ट पार्टी र तारा चिन्हबाहक उम्मेदवारबिरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत झुठो सामग्री प्रचार भएकामा पार्टीले आपत्ति जनाएको छ ।
केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकामा चिन्ता ब्यक्त गरेका छन् । उनका अनुसार पार्टीका संयोजक प्रचण्डको आवाज जस्तो आउने गरी बनाइएका नक्कली भिडियो बन्द गराउन पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकामा आपत्ति जनाइएको छ ।
देश जलाउने, जेन्जी युवाको हत्या गर्ने तथा देशको अस्तित्व नै जोखिममा पार्न खोज्ने शक्तिहरु नै यस्ता दुस्प्रचारमा लागिरहेको पार्टीले जनाएको छ । यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण भएको नेकपाको ठहर छ ।
नेकपाद्वारा जारी वक्तव्यमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न आग्रह गरिएको छ । यस प्रकारका अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गरिएको छ।
पुनले सत्य, तथ्य जाच र मतदाताको सचेत पहलले मात्र यस्ता भ्रमपूर्ण प्रचार परास्त गर्न सकिने बताउँदै पार्टीका सबै समर्थक तथा शुभेच्छुकलाई यस्ता कुनै पनि झुठा प्रचारको तत्काल प्रतिकार गर्न तथा सधै सत्य र न्यायको पक्षमा उभिन आह्वान गरेका छन् ।












