चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो कोहीमाथि बल प्रयोग हुन्छः आईजीपी कार्की
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सहितको एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा लागू गरिएको जानकारी दिएका छन् ।
आईजीपी कार्कीले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिए । हिमाली तथा उच्च पहाडी क्षेत्रका दुर्गम स्थानमा हेलिकप्टरको व्यवस्था गरेर कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पुर्याइएको उनले बताए ।
साथै आईजीपी कार्कीले मौन अवधिमा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित सबैले आचारसंहिता पालना गर्नमा जोड दिए । साथै उनले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह र आफ्नो अमूल्य मताधिकार सुरक्षित वातावरणमा प्रयोग गर्न अनुरोध गरेका छन् ।












