निर्वाचन आयोगले ३,६८० मतदान केन्द्र अति संवेदनशील घोषणा, सुरक्षा व्यवस्था तीन तहमा
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ३,६८० मतदान केन्द्र अति संवेदनशील रहेको घोषणा गरेको छ।
आयोगका सचिव कृष्णबहादुर राउतले ४,४४२ मतदान केन्द्र संवेदनशील र २,८४५ सामान्य मतदान केन्द्रमा पर्ने जानकारी पनि दिएका छन्। गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना अन्तर्गत देशभर मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा व्यवस्था मिलाएको छ। बाहिरी घेरामा नेपाली सेना, बीचमा सशस्त्र प्रहरी बल, र भित्री घेरामा नेपाल प्रहरी रहने व्यवस्था गरिएको छ।
सचिव राउतले सुरक्षा वर्गीकरण विगतका सुरक्षा विश्लेषण र सम्भावित जोखिमको आधारमा गरिएको भन्दै, यसलाई अन्यथा नलिन सबैलाई अनुरोध गरेका छन्। ‘सुरक्षा परिचालन गर्ने हिसाबले यो संवेनदशीलताको वर्गीकरण गरिएको हो। विगतका सुरक्षा विश्लेषण समेतको पनि हेरेर विश्लेषण गरिएको छ। यसलाई अन्यथा नलिइदिनु,’ उनले भने।













