मन्त्री पुनको तीन बुँदे निर्देशन: कम्प्युटर शिक्षक अनिवार्य, परीक्षाफल ढिलाइमा कारबाही, विश्वविद्यालय परिसर सरसफाइ

User Image Prime TV News १ हप्ता अगाडि
Image of मन्त्री पुनको तीन बुँदे निर्देशन: कम्प्युटर शिक्षक अनिवार्य, परीक्षाफल ढिलाइमा कारबाही, विश्वविद्यालय परिसर सरसफाइ

काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका शैक्षिक संस्थाहरूका लागि तीन बुँदे निर्देशन जारी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका यी निर्देशनहरू शिक्षाको गुणस्तर, समयपालन र शैक्षिक वातावरण सुधारमा केन्द्रित छन्।

मंगलबार मन्त्री पुनले फेसबुकमार्फत जानकारी दिँदै देशभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले विद्यार्थीहरू सूचना प्रविधिबाट वञ्चित हुनु नहुनेमा जोड दिएका छन्।

त्यस्तै, उनले विश्वविद्यालयहरूलाई अधिकतम तीन महिनाभित्र परीक्षाफल प्रकाशित गर्न अनिवार्य गरिएको बताएका छन्।  केही विश्वविद्यालयहरूले परीक्षा लिएपछि परीक्षाफल प्रकाशित गर्न आठ महिनादेखि एक वर्षसम्म ढिलाइ गर्ने गम्भीर समस्या रहेको उल्लेख गर्दै उनले यस्तो ढिलाइले विद्यार्थीको भविष्यमा अपूरणीय क्षति पुर्‍याउने बताए। निर्धारित समयसीमा नमान्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनीसमेत उनले दिएका छन्।

मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्रको फोहोर र झाडी हटाएर सफा र हरित वातावरण निर्माण गर्न पनि निर्देशन दिएका छन्। उनले ठूला रुखहरू नकटाई, परिसरलाई सुन्दर बगैँचा र फुटपाथसहित आकर्षक बनाउने कार्यमा विश्वविद्यालय प्रशासनलाई लाग्न आग्रह गरेका छन्।