निर्वाचन सुरक्षामा खटिएकाहरूको मृत्युले शोक, विभिन्न जिल्लामा १२ जनाले ज्यान गुमाए

User Image Prime TV News एक घण्टा अगाडि
Image of निर्वाचन सुरक्षामा खटिएकाहरूको मृत्युले शोक, विभिन्न जिल्लामा १२ जनाले ज्यान गुमाए

काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका कर्मचारी र प्रहरीको विभिन्न जिल्लामा मृत्यु भएको घटनाले शोकको वातावरण सिर्जना गरेको छ। प्रहरीका अनुसार हालसम्म ११ जना निर्वाचन प्रहरी र एक जना प्रहरी सहायक निरीक्षक (असई)को ज्यान गएको छ।

सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित मतदान केन्द्रमा खटिएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो मंगलवार बेहोस भएपछि उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा निधन भएको हो। उनी रौतहटको माधवनारायण नगरपालिका–६ निवासी थिए।

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित मतदानस्थलमा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह राना अचेत भई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।

बैतडीमा एक महिनाको अवधिमा ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट, ३८ वर्षीय महादेव वड र ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको छ। चन्द ड्युटी सकेर फर्किने क्रममा भिरबाट लडेर ज्यान गुमाएका थिए भने अन्य दुई जनाको अचेत भएर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, रामेछापमा गाडी दुर्घटनामा असई पर्शुराम यादवको मृत्यु भएको थियो। मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय निर्वाचन प्रहरी पवन कुमार शाहको ज्यान गएको छ। रामेछापमै मतदान अधिकृत ५७ वर्षीय डोर प्रसाद घिमिरे मतपत्र लिएर जाँदै गर्दा गाडी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि ४० दिनको अस्थायी सेवामा खटिएका सुरक्षाकर्मीको मृत्युले परिवार र सम्बन्धित क्षेत्रमा शोक छाएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।