प्रतिनिधिसभा निर्वाचनमा ३४.५० प्रतिशत उम्मेदवार खस आर्य समुदायबाट

User Image Prime TV News २ घण्टा अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनमा ३४.५० प्रतिशत उम्मेदवार खस आर्य समुदायबाट

काठमाडौ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार खस आर्य समुदायबाट रहेका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको विवरणअनुसार समावेशी समूहअन्तर्गत ३४.५० प्रतिशत उम्मेदवार खस आर्य समुदायका छन्।

आयोगका अनुसार आदिवासी जनजाति समुदायबाट २७.३० प्रतिशत, मधेशीबाट २४.८७ प्रतिशत, दलितबाट ६.७५ प्रतिशत, मुस्लिमबाट ३.९९ प्रतिशत र थारु समुदायबाट २.५८ प्रतिशत उम्मेदवार सहभागी भएका छन्।

निर्वाचनमा प्रत्यक्षतर्फ ३,४०६ र समानुपातिकतर्फ ३,१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ ३,०१७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार छन् भने समानुपातिकतर्फ १,३६३ पुरुष र १,७७२ महिला उम्मेदवार रहेका छन्।

प्रत्यक्ष निर्वाचनमा ६५ र समानुपातिक प्रणालीतर्फ ६३ राजनीतिक दल सहभागी भएका छन्। आयोगमा कुल १३६ दल दर्ता भएका थिए।