देशभर भोलि प्रतिनिधिसभा निर्वाचन : शीर्ष नेताहरू आ–आफ्नो मतदान केन्द्रमा मत हाल्दै
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । देशभर भोलि फागुन २१ गते बिहीबार प्रतिनिधिसभा निर्वाचन हुँदैछ। मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले शान्तिपूर्ण र मर्यादित वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षलाई आह्वान गरेको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदान कार्यक्रम सार्वजनिक गरेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बिहान ७ बजे काठमाडौंको बौद्धस्थित महाँकालमा रहेको जनकल्याण माध्यमिक विद्यालयबाट मतदान गर्ने कार्यक्रम रहेको जनाइएको छ। उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार हुन्।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मतदानका लागि गृहजिल्ला इलाम पुगेका छन्। उनीसँगै उनका छोरा निर्भिक खनाल पनि इलाममै मतदान गर्ने तयारीमा छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ७ बजे बुढानीलकण्ठ नगरपालिका–२ स्थित साविक गाविस भवन (चपली घुम्ती) मा रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, सुशीला कार्कीले धापासीस्थित टोखा नगरपालिकाबाट मतदान गर्ने जनाइएको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको महाङ्कालस्थित पानी ट्याङ्की नजिकैको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। आयोगका अनुसार देशभरका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने आवश्यक जनशक्ति र सामग्री व्यवस्थापन सम्पन्न भइसकेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई सहयोग गर्न आयोगले आग्रह गरेको छ।













