मतदानपछि कुलमान घिसिङको दाबी: जनताको विश्वासले जित सुनिश्चित
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं–३ का उम्मेदवार तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले जनताको विश्वासका आधारमा विजय हासिल गर्ने दाबी गरेका छन्।
आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन प्रक्रिया हालसम्म शान्तिपूर्ण रूपमा अघि बढिरहेको बताए। “जनताले विश्वास गरेर हामी जित्छौं,” उनले भने।
घिसिङले केही स्थानमा पैसा बाँडिएको भन्ने सूचना सुनेको उल्लेख गर्दै त्यसबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए। आफ्नै निर्वाचन क्षेत्रमा पनि यस्ता चर्चा आएको उनले बताए।
पहिलो पटक आफ्नै नेतृत्वमा पार्टी स्थापना गरी प्रत्यक्ष निर्वाचनमा होमिएका घिसिङले आज बिहान ७ बजे काठमाडौंको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेका हुन्।
उनी काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन्। निर्वाचन परिणामप्रति आफू आशावादी रहेको उनले प्रतिक्रिया दिएका छन्।












