चितवन–३ मा मतदानपछि प्रचण्डको आह्वान: ‘नयाँ–पुरानो होइन, सही–गलतको आधारमा निर्णय गरौं’
Prime TV News एक घण्टा अगाडि 
चितवन । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचन बहसलाई 'नयाँ र पुराना' को रूपमा चित्रण गर्नु देश र लोकतन्त्रको हितमा नभएको बताएका छन्।
चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी स्कुल मतदान केन्द्रमा मत खसालेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले मतदातालाई सही र गलतको आधारमा निर्णय गर्न आग्रह गरे। 'नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन,' उनले भने, 'नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्छ।'
उनले दलहरूको योजना, कार्यक्रम र नीतिको आधारमा मूल्यांकन गर्नुपर्नेमा जोड दिए। कसको नीति राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिका पक्षमा छ भन्ने कुरा हेरेर मत हाल्नुपर्ने उनको भनाइ थियो।
संयोजक दाहालले सबैलाई विवेक प्रयोग गरी सही पक्षमा उभिन अपिल गर्दै सतही नाराभन्दा नीति र कार्यक्रमको आधारमा निर्णय गर्नु लोकतन्त्रका लागि आवश्यक रहेको बताए।












