प्रतिनिधिसभा निर्वाचन तयारीबारे प्रधानमन्त्री र आयोगबीच छलफल


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगबीच सोमबार छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउँदै, आयोगलाई आवश्यक स्रोतसाधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था गरिने आश्वासन दिइन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सामग्री पर्याप्त मौज्दातमा रहेको र अभाव हुने सामग्री स्वदेशमै उत्पादन गरिएका वस्तुहरूलाई प्राथमिकता दिई खरिद गरिने जानकारी दिए।
उनले राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमसँग समन्वय गर्दै निर्वाचन प्रक्रिया अघि बढाइने बताए।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल तथा आयोगका आयुक्त डा जानकी तुलाधर, सगुन शमशेर जबरा र सचिव महादेव पन्थ सहभागी थिए।