'मैले कर्तव्य पूरा गरेँ, अत्यन्त खुसी छु': प्रधानमन्त्री कार्की
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । जेनजी आन्दोलनपछि पहिलोपटक प्रतिनिधि सभा सदस्य निर्वाचन भइरहेको छ। यसै क्रममा अन्तरिम सरकारकी प्रमुख सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन उत्साहपूर्वक र शान्तिपूर्ण रूपमा भइरहेको बताइन्। “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ। देशमा निर्वाचन हुँदै छ, म अत्यन्त खुसी छु,” उनले भनिन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशको राजनीतिक अवस्थालाई पूर्ण रूपमा परिवर्तन गरेको थियो। आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।
अन्तरिम सरकारको प्रमुख दायित्व निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउनु रहेको छ। सोही जिम्मेवारीअन्तर्गत आज देशभर प्रतिनिधि सभा सदस्यका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार विभिन्न जिल्लामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ।
राजनीतिक उथलपुथलपछि जनमतमार्फत नयाँ जनादेश प्राप्त गर्ने यो निर्वाचनलाई निर्णायक रूपमा हेरिएको छ। आन्दोलनले सत्ता परिवर्तन गराएको भए पनि अन्तिम निर्णय मतपेटिकाले गर्नेछ ।













