प्रतिनिधिसभा सदस्य निर्वाचनमा शीर्ष नेताहरूले को–कसले गरे मतदान
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ। यसअन्तर्गत प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरूले आफ्ना मताधिकार प्रयोग गरेका छन्। यस पटक १६५ सदस्यका लागि निर्वाचन हुँदैछ।
प्रधानमन्त्री सुशीला कार्की काठमाडौँ–५ स्थित धापासी फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बूढानीलकण्ठ नगरपालिका–२, साविक गाविस भवन मतदान केन्द्रबाट मतदान गर्न पुगेकी थिइन्।
पूर्वप्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरे भने पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कूल शान्तिपुरबाट मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व गएका छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरे।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापा काठमाडौँ–४, मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन्। उनले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् र कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ–३, उपत्यका खानेपानी लिमिटेड, महाँकालचौरमा मतदान गरे। रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलबाट मतदान गरे।
कांग्रेसका नेता/पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१, सूर्यजोति माध्यमिक विद्यालयबाट र पूर्वगृहमन्त्री रमेश लेखक कञ्चनपुर–३, वेदकोट–८, बैजनाथ माविबाट मतदान गर्न पुगे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई साम्पाङ धरान–१८, कार्मेल बोर्डिङ स्कूलमा मतदान गरे भने नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव रोल्पा परिवर्तन–३, थुनिकोट बुथकेन्द्र ‘क’बाट १८ वर्षपछि पहिलो पटक मतदान गरे।
तर, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर पुगेकाले मतदानमा उपस्थित भएनन्। पूर्वउपप्रधानमन्त्री तथा नेकपा नेता नारायणकाजी श्रेष्ठ पनि आफ्नै निर्वाचन क्षेत्रमा व्यस्तताका कारण मतदान नगरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर मतदाताहरू बिहानदेखि साँझसम्म आफ्नो मत प्रयोग गर्दैछन् र चुनाव प्रक्रिया शान्तिपूर्वक सञ्चालन भइरहेको छ।












