मतदाता बहिष्कार : दार्चुला, दाङ र ओखलढुङ्गामा मतदान ठप्प

User Image Prime TV News एक घण्टा अगाडि
Image of मतदाता बहिष्कार : दार्चुला, दाङ र ओखलढुङ्गामा मतदान ठप्प

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनका क्रममा दार्चुला, दाङ र ओखलढुङ्गाका केही मतदान केन्द्रमा मतदाताहरूले सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन्। स्थानीयवासीले आफ्ना माग सम्बोधन नभएको भन्दै मतदानमा सहभागिता नजनाएपछि ती केन्द्रमा निर्वाचन प्रक्रिया ठप्प भएको छ।

दार्चुला जिल्लामा नौगाढ–१ स्थित गौरीशंकर माध्यमिक विद्यालय र अपि हिमाल–३ स्थित झुक्सु मतदान केन्द्रमा बिहान १० बजेसम्म कोही मतदाता उपस्थित भएनन्। दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीले मतदाताहरू साँझसम्म आउन सक्ने अपेक्षा राख्दै कर्मचारीहरू केन्द्रमा पर्खिरहेको जानकारी दिए। उनले मतदाता बहिष्कारको यकिन कारण अझै खुलेको छैन भने पनि “नो भोट” भन्दै विरोधको संकेत सुनिएको बताए।

दाङको बबई गाउँपालिकामा पनि दुई मतदान केन्द्रमा मतदान बहिष्कार भएको छ। बस्ती स्थानान्तरण नहुँदा बबई–१ जनता मावि र बबई–७ देउती मावि, तल्लो मलईका मतदाताहरूले मतदानमा भाग लिएका छैनन्। सुरक्षाकर्मी र कर्मचारीहरू बिहान ७ बजेदेखि तयारीमा भए पनि स्थानीयको अडानका कारण मतदान शुरु हुन सकेको छैन।

ओखलढुङ्गाको मानेभञ्ज्याङ–७ स्थित टोक्सेल मतदान केन्द्रमा पनि स्थानीयले मतदान बहिष्कार गरेका छन्। प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माण गर्ने आश्वासन दिएकामा पनि काम सुरु नगरेको भन्दै स्थानीय “नो भोट” स्थितिमा छन्। मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले मतदाता केन्द्रमा नभएको जानकारी आयोगलाई दिइसकेका छन्। गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले अस्पताल निर्माण नभएकाले स्थानीय आक्रोशित भएको बताए।

निर्वाचन आयोगका अनुसार, यदि साँझसम्म पनि मतदाता उपस्थित भएनन् भने त्यहाँ खटिएका कर्मचारीहरूको समानुपातिक मत मात्र मुचुल्का उठाएर पठाइने तयारी गरिएको छ।