अराजकता अस्वीकार गर्ने जनमत देखिएको : शंकर पोखरेल
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौं । नकेाप एमालेका महासचिव शंकर पोखरेलले बंगलादेश र श्रीलङ्कामा भएका निर्वाचन परिणामहरूले विध्वंस र अराजकतामा संलग्न शक्तिहरूलाई जनताले अस्वीकार गरेको सन्देश दिएको बताएका छन्।
निर्वाचनमा मतदान जारी रहेका बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले पछिल्लो समय केही मुलुकहरूमा देखिएका राजनीतिक घटनाक्रमले जनताले स्थिरता र शान्तिको पक्षमा मत दिएको देखिएको बताए।
उनले बंगलादेश र श्रीलंकामा भएका निर्वाचनका परिणामहरूले अराजकता र अस्थिरताप्रति जनताको असहमति प्रकट भएको उल्लेख गरे। उनका अनुसार मुलुकलाई अराजकता र विध्वंसतर्फ लैजाने प्रवृत्तिले दीर्घकालीन रूपमा राष्ट्रको हितमा काम नगर्ने तथ्य जनताले महसुस गरेको देखिएको छ।
पोखरेलले त्यस्ता घटनाक्रमबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताए। उनले नेपालका जनताले पनि अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गर्दै लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हितका विषयहरू जोखिममा परेका बेला जनमतमार्फत समाधान खोज्नु महत्त्वपूर्ण हुने धारणा राखे।
उनले नेपालमा जारी राजनीतिक अस्थिरताले विकास र समृद्धिमा बाधा पुर्याएको उल्लेख गर्दै समाजमा देखापरिरहेको पपुलिजम र अराजकता राजनीतिक स्थायित्वका लागि चुनौती बनेको बताए ।












