आयोगले मतदानको अद्यावधिक विवरण साँझ ६:१५ बजे सार्वजनिक गर्ने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज सम्पन्न मतदानको अद्यावधिक विवरण साँझ ६:१५ बजे सार्वजनिक गर्ने भएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले आयोगको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी मतदानसम्बन्धी पछिल्लो जानकारी सार्वजनिक गरिने बताएका छन्। उनले जारी गरेको सूचनामा सम्बन्धित सबैलाई पत्रकार सम्मेलनबारे जानकारी गराइएको उल्लेख छ।
आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो। आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले भने त्यसपछि पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
यसअघि दिउँसो आयोगले पत्रकार सम्मेलन गर्दै देशभर मतदाताको सहभागिता उत्साहजनक रहेको जनाएको थियो। छिटपुट घटनाबाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगले मतदान सकिएपछि प्राप्त हुने विवरणका आधारमा देशभरको समग्र अवस्था सार्वजनिक गर्ने जनाएको छ।












