रौतहट–२ का उम्मेदवार किरण साहले पार्टी छोडे, धाँधली भएको ठाउँमा पुनः मतदानको माग

User Image Prime TV News २ घण्टा अगाडि
Image of रौतहट–२ का उम्मेदवार किरण साहले पार्टी छोडे, धाँधली भएको ठाउँमा पुनः मतदानको माग

रौतहट । रौतहट–२ बाट उम्मेदवार रहेका किरण शाहले नेपाली कम्युनिष्ट पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। निर्वाचनका क्रममा बुथ कब्जालगायत धाँधली भएको आरोप लगाउँदै उनले पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन्।

बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै साहले वर्तमान विषम परिस्थितिमा निर्वाचन भइरहेको बताएका छन्। जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिमा पनि बुथ कब्जा जस्ता घटना भएको दाबी गर्दै उनले त्यसप्रति पार्टी नेतृत्व मौन बसेको आरोप लगाए।

उनले पार्टीका संयोजक पुषपकमल दाहाल र सहसंयोजक माधबकुमार नेपाल परिस्थितिप्रति निरिह बनेको आरोप लगाउँदै यस्तो अवस्थामा पार्टीमा बसिरहन नसक्ने बताएका छन्। साहले पार्टीका तर्फबाट खटिएका आफ्ना प्रतिनिधिहरूलाई पनि फिर्ता बोलाएको जानकारी दिएका छन्। साथै धाँधली भएको स्थानमा पुनः मतदान नगरिएसम्म मतगणनामा सहभागी नहुने चेतावनी दिएका छन्।

उनी २०७९ सालमा रौतहट–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। शाह निर्वाचनअघि एमाले छोडेर  नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए।