निर्वाचनमा जनताको सक्रिय सहभागिताप्रति कांग्रेसको धन्यवाद
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रति नेपाली जनताको अटल निष्ठा देखाएको भन्दै आभार, सम्मान र बधाई प्रकट गरेको छ।
सभापति गगन थापाले विज्ञप्तिमार्फत् मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति धन्यवाद व्यक्त गर्दै भनेका छन्– “निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नु हुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति विश्वास पुष्टि गरेको छ र राजनीतिक दल तथा आगामी सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ।”
थापाले केही निर्वाचन क्षेत्रबाहेक शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको उल्लेख गर्दै सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् ।







