चीनको इन्टरनेट नियामक निकायले अनलाइन सामग्री बन्द


काठमाडौ । चीनको इन्टरनेट नियामक निकायले हिंसात्मक वा शत्रुतापूर्ण भावनालाई बढावा दिने अनलाइन सामग्री बन्द गरेको छ । कम्तिमा दुई महिनासम्म यस्ता सामग्री चल्न नदिने राष्ट्रव्यापी अभियान सुरु भएको जनाइएको छ ।
अभियानको दायरामा अर्थतन्त्रमा आएको सुस्तीबारे गरिने निराशावादी टिप्पणीहरू समेत परेका छन् । यो पहल क्वाइसु नामक छोटो भिडियो एप, वेइबो नामक माइक्रोब्लगिङ साइट र इन्स्टाग्रामजस्तै शियाओहोंगशुलगायत प्रमुख प्लेटफर्महरूविरुद्ध हालै गरिएका अनुशासनात्मक कारबाहीपछि आएको हो ।
चीनको आर्थिक संघर्ष र युवामा बढ्दो बेरोजगारीका कारण यस वर्ष नकारात्मक सार्वजनिक भावनासम्बन्धी चिन्ताहरू थपिएका छन् । साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले सामाजिक सञ्जालमा ट्रेन्डिङ टपिक, सामग्री सिफारिस र कमेन्ट सेक्सनहरूको व्यापक निरीक्षण गर्ने घोषणा गरेको छ ।