समानुपातिकतर्फको मतगणना जारी, रास्वपा अग्रस्थानमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा केही दलबीच मतान्तर फराकिलो देखिएको छ। हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना भएको निर्वाचन आयोगले जनाएको छ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट अग्रस्थानमा देखिएको छ। पार्टीले ४० लाख ६ हजार ६९४ मत प्राप्त गर्दै कूल सदरमतको ४८.२८ प्रतिशत मत हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ४८ हजार ७९९ मत पाउँदै १६.२५ प्रतिशत मत प्राप्त गरेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेले ११ लाख ४२ हजार ३८१ मत प्राप्त गरेको छ, जुन १३.७६ प्रतिशत हो। चौथो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले ५ लाख ८७ हजार २३० मत पाउँदै ७.०८ प्रतिशत मत हासिल गरेको छ।
यसैगरी श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ९६१ मतसहित ३.४९ प्रतिशत मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ लाख ७४ हजार ९९१ मत प्राप्त गर्दै ३.३१ प्रतिशत मत हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। आयोगले मतगणना सकेसम्म छिटो सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ।







