धनुषा–१ मा विजयी भइसके पछि पनि प्रमाणपत्र नदिएको भन्दै नेकपाले जनायो आपत्ति

User Image Prime TV News एक महिना अगाडि
Image of धनुषा–१ मा विजयी भइसके पछि पनि प्रमाणपत्र नदिएको भन्दै नेकपाले जनायो आपत्ति

काठमाडौ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फको नतिजालाई लिएर विवाद उत्पन्न भएको छ। आफ्ना उम्मेदवार विजयी भइसके पनि प्रमाणपत्र नदिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगप्रति आपत्ति जनाएको छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार जारी गरेको वक्तव्यमा मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा पनि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव लाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

नेकपाका अनुसार आयोगले फागुन १८ गते बसेको बैठकमार्फत निर्वाचन ऐन, २०७४ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरिसकेको थियो। त्यसपछि आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसमा मातृकाप्रसाद यादव विजयी भएको परिणाम सार्वजनिक भइसकेको नेकपाको भनाइ छ।

तर मतपरिणाम सार्वजनिक भइसके पनि आयोगले प्रमाणपत्र वितरण नगरेको र प्रक्रिया लम्ब्याएको भन्दै पार्टीले आपत्ति जनाएको हो। नेकपाले कानुनसम्मत रूपमा उम्मेदवारी खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित कारण देखाएर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र नदिनु उचित नहुने जनाएको छ।

पार्टीले निर्वाचन आयोगजस्तो संवैधानिक निकायले विधिको शासन पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिएको छ। साथै न्यायालयले पनि कानून र प्रक्रियाअनुसार सही निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ।

अन्तिम मत परिणामअनुसार धनुषा–१ मा मातृकाप्रसाद यादवले १० हजार ४३० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार रामपलटन साह ले ९ हजार ४८५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार रामचन्द्र मण्डल ले ९ हजार २२० मत प्राप्त गरेका छन्।

यस विषयमा निर्वाचन आयोगले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।