चैत्रको पहिलो साताभित्र निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया टुंग्याउने आयोगको तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of चैत्रको पहिलो साताभित्र  निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया  टुंग्याउने आयोगको तयारी

काठमाडौ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया चाँडै टुंग्याउने तयारी गरेको जनाएको छ। आयोगका अनुसार निर्वाचनसँग सम्बन्धित बाँकी कामहरू चैत्रको पहिलो साताभित्र सम्पन्न गरिनेछ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिकतर्फको मतगणना मंगलबारसम्म देशभर सम्पन्न हुने अनुमान गरिएको जानकारी दिए। मतगणना सकिएपछि खसेको सदर मतको प्रतिशतका आधारमा राजनीतिक दलहरूले पाएको मत प्रतिशत निर्धारण गरिने र सोही आधारमा समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने उम्मेदवारहरूको नाम माग गरिने उनले बताए।

उनका अनुसार दलहरूले पठाएको नामावलीलाई आयोगले क्लस्टर अनुसार रुजु गर्दै अन्तिम सूची तयार पार्नेछ। त्यसपछि समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई आयोगबाट प्रमाणपत्र प्रदान गरिने प्रक्रिया अघि बढाइनेछ।

यसअघि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित भएका उम्मेदवारहरूलाई भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिसकिएको आयोगले जनाएको छ। निर्वाचनको पछिल्लो नतिजाअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको देखिएको छ।