नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ। बैठकमा पदाधिकारी बैठकमा प्रस्तुत गरिएका प्रस्तावहरूलाई अगाडि बढाउने र त्यसलाई अनुमोदन प्रक्रियामा लैजाने तयारी गरिएको छ।
हालै सम्पन्न पदाधिकारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर महिनामा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए। महाधिवेशन गर्ने निर्णयसँगै अहिलेको पार्टी संरचना भंग गरी सबै संगठनहरूलाई विघटन गरेर त्यसको सट्टामा महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव प्रचण्डले राखेका छन्।
यी प्रस्तावहरू आज बस्ने स्थायी समिति बैठकबाट अनुमोदन गराएर असोज ९ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ। केन्द्रीय समितिबाट निर्णय पारित भएपछि विशेष महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। साथै, पार्टीका संगठनहरू भंग गर्ने निर्णय पनि त्यही बैठकबाट लिइनेछ।







