निजामती कर्मचारी ट्रेड युनियनहरूले हस्तक्षेप र बर्खास्तीको मागविरुद्ध कडा प्रतिक्रिया


काठमाडौ । नेपालका ६ वटा प्रमुख निजामती कर्मचारी ट्रेड युनियनहरूले हालै सार्वजनिक प्रशासनको रुपान्तरणको नाममा कुनै व्यक्ति वा पद विशेषको बर्खास्ती वा राजीनामा माग गर्ने प्रवृत्तिलाई कडा रूपमा अस्वीकार गरेका छन्।
यी ट्रेड युनियनहरूले मुख्य सचिव एकनारायण अर्याललाई बुझाएको ज्ञापनपत्रमार्फत्, संघ संगठनहरू कानूनी रूपमा सञ्चालन भइरहेका छन् र तिनीहरूविरुद्ध नकारात्मक टिप्पणी र विघटनको माग अस्वीकृत हुने स्पष्ट पारेका छन्।
अन्तरिम सरकार गठन भएपश्चात् केही कर्मचारीहरूले जेनजी निजामती भेला गरी मुख्य सचिव, केही सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार तथा संसदका महासचिवलगायतको राजीनामा माग गरेका थिए। साथै, ट्रेड युनियनहरूको विघटनसमेत मागिएको थियो।
यसलाई चुनौती दिदै ६ वटा निजामती कर्मचारी संगठनका अध्यक्षहरू भवानी दाहाल (निजामती कर्मचारी संगठन), उत्तम कटुवाल (कर्मचारी युनियन), अम्बदत्त भट्ट (राष्ट्रिय कर्मचारी संगठन) लगायतले संयुक्त प्रेस वक्तव्य जारी गरी यस्ता अस्वीकृत र असंवैधानिक मागहरूलाई कडा रूपमा प्रतिवाद गरेका छन्।
उनीहरूले संघ संगठनहरूको संरक्षण र कानूनी मर्यादाको सम्मान आवश्यक रहेकोमा जोड दिँदै प्रशासनलाई बिथोल्ने कुनै पनि प्रयास सह्य नहुने स्पष्ट पारेका छन्।