मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश जारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of मतदाता नामावली ऐन, २०७३  संशोधन अध्यादेश जारी

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ मा संशोधन गर्न अध्यादेश जारी गरेका छन् । सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्की संगको भेटपछि राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका थिए । यस अध्यादेशद्वारा मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरिएको छ ।  संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै अध्यादेशको बारेमा जानकारी दिएको छ।

यस संशोधनसँगै निर्वाचन आयोगलाई आगामी फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त भएको छ। हाल संसद नहुँदा अन्तरिम सरकारलाई अध्यादेशमार्फत मात्र कामकाजी प्रक्रिया अघि बढाउनुपर्ने बाध्यता रहेको थियो । 

अध्यादेशमा के छ ?

नेपालमा आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेपछि, निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रिया पुनः खुल्ला गर्नका लागि अध्यादेश ल्याउने तयारी गरेको थियो । वर्तमान कानूनी प्रावधानअनुसार, निर्वाचन मिति घोषणा भइसकेपछि नयाँ मतदाताहरूको नाम दर्ता गर्न पाउने थिएनन् ।

यस कारण, १८ वर्ष पुगेका युवाहरूको नाम मतदाता नामावलीमा नहुन सक्ने र उनीहरू मताधिकारबाट बञ्चित हुने थिए । यसलाई ध्यानमा राख्दै, निर्वाचन आयोगले गृह मन्त्रालयसँग समन्वय गरेर उक्त प्रक्रिया खुल्ला गर्ने योजना बनाएको थियो ।

अध्यादेश आएसंगै १८ वर्ष पुगेका नयाँ नागरिकहरूको नाम दर्ता र उनीहरूलाई आगामी निर्वाचनमा मतदान गर्ने अवसर पाउने छन् । अध्यादेशले यहि फागुन २० गतेसम्म १८ वर्ष पुगेका नागरिक, जसले नागरिकता लिँदै मतदाता नामावलीमा दर्ता गरेका छन्, उनीहरूलाई पनि मतदान गर्ने अधिकार दिइने छ।

यस निर्णयले आगामी निर्वाचनमा युवा वर्गको सक्रिय सहभागिता सुनिश्चित गर्ने छ ।