३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन आयोगको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले हालै सम्पन्न निर्वाचनमा सहभागी उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ।
आयोगले निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण बुझाउनुपर्ने जनाएको छ।
आयोगका अनुसार उम्मेदवार तथा राजनीतिक दलले खर्चको विवरण सार्वजनिकसमेत गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका तथा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन) तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सकिने उल्लेख गरिएको छ।
निर्वाचन खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा लिखित जानकारी नदिने उम्मेदवार तथा राजनीतिक दलमाथि कारबाही हुने आयोगले चेतावनी दिएको छ।
आयोगका अनुसार यस्तो अवस्थामा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३को दफा ३१ बमोजिम कारबाही हुने व्यवस्था रहेको छ।
त्यस्तै निर्वाचन ऐन, २०७४को दफा ७२ को उपदफा (४) अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक निर्वाचन प्रणालीतर्फका राजनीतिक दलले आयोगसमक्ष तोकिएको ढाँचामा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान रहेको आयोगले जनाएको छ।







