तेल तथा ऊर्जा पूर्वाधारमा थप आक्रमण भए कडा प्रतिकार गर्ने इरानको चेतावनी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले आफ्नो तेल तथा ऊर्जा पूर्वाधारमा थप आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
इरानी सेनालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले अमेरिकासँग सहकार्य गर्ने तेल कम्पनीका ऊर्जा संरचनालाई निशाना बनाइने चेतावनी दिएको बताएका छन्।
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमामा अमेरिकी सेनाले शक्तिशाली हवाई आक्रमण गरेको दाबी गरेपछि आएको हो। ट्रम्पका अनुसार अमेरिकी सेनाले टापुमा रहेका सबै सैन्य अड्डालाई पूर्ण रूपमा ध्वस्त पारेको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै मानवीय तथा नैतिक कारण देखाउँदै खार्ग टापुको तेल पूर्वाधारलाई भने तत्कालका लागि निशाना नबनाइएको बताएका छन्।
खार्ग टापु इरानको सबैभन्दा महत्त्वपूर्ण तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ। यहाँबाट ठूलो परिमाणमा कच्चा तेल विश्व बजारमा निर्यात हुने भएकाले यो टापुलाई इरानको ऊर्जा प्रणालीको प्रमुख आधारका रूपमा लिइन्छ।
गत फेब्रुअरी २८ देखि सुरु भएको सैन्य टकरावपछि इरान, अमेरिका र इजरायल बीचको तनाव थप चर्किएको छ। यस अवधिमा इजरायली सेनाले तेहरानको रे, साहरान र अक्दिसियाह क्षेत्रमा रहेका तेल डिपो तथा कारजको फर्डिस क्षेत्रमा आक्रमण गरेको बताइएको छ।
बदलामा इरानले पनि फारसी खाडी क्षेत्रका केही देशमा रहेका तेल रिफाइनरी तथा भण्डारण केन्द्रमा हमला गरेको जनाइएको छ। हालको घटनाक्रमपछि अमेरिकाले खार्ग टापु नियन्त्रणमा लिन सक्ने सम्भावनाबारे पनि विभिन्न अन्तर्राष्ट्रिय विश्लेषणहरू सार्वजनिक भइरहेका छन्। खार्ग टापु इरानको सबैभन्दा ठूलो तेल भण्डारण तथा निर्यात केन्द्र भएकाले यसको रणनीतिक महत्त्व अत्यन्त ठूलो मानिन्छ।







