रास्वपाले समानुपातिक सांसदको नामावली आज निर्वाचन आयोगमा बुझाउने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज आफ्ना समानुपातिक सांसद बन्ने उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै रास्वपा प्रवक्ता मनिष झालेले समानुपातिक सांसदहरूको नाम टुंगो लगाउने प्राथमिकता रहेको बताएका छन्। उनले बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने जानकारी दिएका छन्।
सरकार गठनबारे सोधिएको प्रश्नमा उनले केही संवैधानिक र व्यवहारिक प्रक्रिया बाँकी रहेकाले नयाँ सरकार गठनमा करिब १० दिन जस्तो समय लाग्न सक्ने बताएका छन्। उनले भने, “संसद सचिवालयले तयारी गर्नुपर्छ, निर्वाचन आयोगले अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउन बाँकी छ। त्यसपछि समानुपातिक उम्मेदवारलाई प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया बाँकी रहन्छ। यी सबै चरण पूरा हुन करिब १० दिन लाग्ने अनुमान गर्न सकिन्छ।”
प्रवक्ता झाले थपे कि प्रक्रिया सबै पक्षको जिम्मेवारीमा बाँडिएकोले निश्चित समय भन्न सकिँदैन, तर पार्टीको प्राथमिकता समानुपातिक सांसदको नामावली तुरुन्त बुझाउनु रहेको छ । यसै बिच रास्वपाको सचिवालय बैठक भर्चुअल बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलगायत नेताहरू ‘बिरामी’ भएकाले बैठक भर्चुअल रूपमा बस्ने बताइएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, अबको करिब एक घण्टापछि सचिवालय बैठक बस्नेछ । आजको बैठकबाट समानुपातिक सांसद चयन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए ।बैठकका निम्ति उपसभापति डोलप्रसाद अर्याल, प्रवक्ता झा, सोविता गौतमलगायत नेता काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए ।







