यूएईस्थित नेपाली दूतावासले अफवाह नफैलाउन र सुरक्षा सचेतना अपनाउन अपिल

User Image Prime TV News एक महिना अगाडि
Image of यूएईस्थित नेपाली दूतावासले अफवाह नफैलाउन र सुरक्षा सचेतना अपनाउन अपिल

काठमाडौ । यूएईस्थित नेपाली दूतावासले यूएईमा रहेको नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ।

दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मा यूएईको वर्तमान सुरक्षा परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, फोटो वा भिडियोहरू डिजिटल माध्यमबाट सार्वजनिक नगर्न भनिएको छ। यस प्रकारको गतिविधिले भ्रम फैलाउन सक्ने भएकाले दूतावासले जिम्मेवार व्यवहार अपनाउन आग्रह गरेको छ।

यूएईमा बसोबास गर्ने सबै नेपालीले त्यहाँको कानुन पालना गर्नुपर्ने भन्दै दूतावासले गैरकानुनी वा अनुमतिविना गतिविधिमा संलग्न नहुन सचेत गराएको छ। उल्लङ्घन भएमा १–३ वर्ष कैद र १–२ लाख दिरामसम्म जरिवाना हुने चेतावनी दिइएको छ।

साथै, मिसाइल वा ड्रोन अवरोध गर्दा जमिनमा खसेका अवशेष नजिक नजान, तस्वीर नखिच्न र सार्वजनिक नगर्न समेत दूतावासले अनुरोध गरेको छ। दूतावासले यूएई सरकारका आधिकारिक सुरक्षा मापदण्ड पालन गर्न र सत्य जानकारीका लागि मात्र सरकारी स्रोत र दूतावासको आधिकारिक फेसबुक पेज हेर्न सुझाव दिएको छ। यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न दूतावासले अपिल गरेको छ।