ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२ र ८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधबार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो ।
सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए। कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यसपटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले भने “बजेट र स्रोत सुनिश्चित भइसकेका आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्छ। सचिव र आयोजना प्रमुखले अझ सक्रिय भूमिका खेल्नुपर्ने समय आएको छ,” । उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाउने र प्रत्येक हप्तामा प्रगति मूल्याङ्कन गर्ने योजना पनि अघि सारेका छन् ।
मन्त्री खड्काले अन्तरमन्त्रालय तथा मन्त्रालयभित्रका विभागीय समन्वयलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै समयमै काम सम्पन्न गर्न प्रतिबद्ध हुन निर्देशन दिए । “देश बनाउने जिम्मा हामी सबैको हो। क्षमताको पूर्ण सदुपयोग गर्दै परिणाम निकाल्नुपर्छ,” मन्त्री खड्काकाे भनाई थियो ।
यसअघि साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऊर्जा मन्त्री खड्काबीच पनि आगामी वर्षको कार्यसम्पादन सम्झौता भएको थियो ।