इनिशा विकको हत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्छौः गृहमन्त्री अर्याल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको हत्या प्रकरणमा दोषीलाई कानूनी दायरामा ल्याई निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।
सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूको दण्डनीयता निर्धारण गरेर पीडित परिवारलाई न्याय दिन आग्रह गरेको हो।
ज्ञापनपत्रमा मोर्चाले घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउन र पीडित परिवारलाई भौतिक तथा मानसिक क्षतिको उचित मूल्याङ्कन गरी न्याय र क्षतिपूर्तिको माग गरेको छ। ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले घटनाको छानबिन गरी दोषीलाई कानूनी प्रक्रियामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सरकारको प्रमुख जिम्मेवारी शान्ति र सुव्यवस्था कायम गर्नु भएको र दण्डहीनताको अन्त्यका लागि सरकार कडा कदम चालिरहेको जानकारी दिएका छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका-६ स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बसोबास गर्दै उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत इनिशा विकको सामूहिक बलात्कार पछि हत्या गरिएको घटनाले समाजलाई गहिरो सदमा दिएको छ।







