समानुपातिक सांसद सिफारिसमा अटेनन् ज्ञानेन्द्र मल्ल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सांसद सिफारिसमा अटाउन सकेनन्। पुरुषतर्फ समानुपातिकबाट ९ जना मात्रै सांसद बनाउन सकिने सीमाका कारण उनी अन्तिम सूचीमा पर्न नसकेको बताइएको छ।
रास्वपाले मल्ललाई आदिवासी जनजाति क्लस्टरमा पाँचौँ नम्बरमा राखेको थियो। उक्त क्लस्टरबाट भने तीन जना मात्रै समानुपातिक सांसद चयन भएका छन्। सांसद सिफारिसमा नपरेपछि मल्लले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूलाई कुनै गुनासो नरहेको बताएका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा देशको हित महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
क्रिकेटबाट सिकेको अनुभव सम्झिँदै उनले लेखेका छन्, “मैदानमा म अन्तिम ११ मा रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन। खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ।” उनले संसदमा पुगेका प्रतिनिधिहरूले जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरेका छन्।
मल्लले निर्वाचनमा देशको समृद्धिका लागि मत दिने सबै मतदातालाई धन्यवाद दिएका छन्। साथै आफूलाई सम्झिएकोमा रास्वपा परिवार तथा बालेन प्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले आफू सदनमा होस् वा सडकमा, देशको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।







