यातायात व्यवसायी महासंघद्वारा पेट्रोलियम मूल्यवृद्धिको विरोध, तत्काल भाडा समायोजन माग

User Image Prime TV News एक महिना अगाडि
Image of यातायात व्यवसायी महासंघद्वारा पेट्रोलियम मूल्यवृद्धिको विरोध, तत्काल भाडा समायोजन माग

काठमाडौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारसँग सार्वजनिक यातायातको भाडा तात्कालिक समायोजन गर्न माग गरेको छ।

नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यति ठूलो मूल्यवृद्धिले यातायात व्यवसायी र आम उपभोक्तामाथि प्रत्यक्ष असर पार्छ। सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर भएकाले भाडा समायोजन अनिवार्य छ।”

यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघ असन्तुष्ट छ। महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकको आधारमा तय गरिएको वैज्ञानिक विधि (२०६५) अनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ।

महासंघले संघीय रुटका लागि यातायात व्यवस्था विभाग, र प्रदेशस्तरीय रुटका लागि सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयमार्फत यथाशीघ्र भाडा समायोजन गरिनुपर्ने पनि जोड दिएको छ। त्यसैगरी, व्यवसायीहरूले नेपाल आयल निगमलाई केवल मूल्यवृद्धि गरेर समस्या समाधान नहुने भन्दै निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण र पेट्रोलियमको वैज्ञानिक आपूर्ति व्यवस्था अपनाउन समेत सरकारसमक्ष माग गरेका छन्।