अफगानिस्तानको राजधानी काबुलस्थित एक अस्पतालमा हवाई आक्रमण ,कम्तीमा ४०० जनाको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ। अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।
तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतका अनुसार सोमबार राति काबुलको ओमार एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण भएको हो । २ हजार शय्या क्षमताको उक्त अस्पताल भवनको ठूलो हिस्सा आक्रमणबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।
स्थानीय टेलिभिजन स्टेसनहरूले एक्समा पोस्ट गरेका भिडियो फुटेजहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको र अग्नि नियन्त्रकहरू भत्किएको भवनको भग्नावशेषमा लागेको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ।
यता पाकिस्तानले भने अफगानिस्तानको यो दाबीलाई अस्वीकार गरेको छ । पाकिस्तानले यसलाई झूटो र जनमतलाई भ्रमित पार्ने उद्देश्यले गरिएको प्रचार भनेको छ । पाकिस्तानी पक्षले सोमबार काबुल र नान्गाहार प्रान्तमा केवल सैन्य ठेगानाहरूलाई मात्र निशाना बनाएको स्पष्ट पारेको छ।







